अक्कल तामाङ

Non-Resident Nepali Association (NRNA) (गैर आवासिय नेपाली सङ्घ)एक यस्तो संस्था, जुन कुनै राजनीतिक झण्डा, कुनै जातीय सीमारेखा वा कुनै भूगोलको दायराभित्र सिमित छैन, यो त विश्वभर छरिएका नेपालीको साझा छाता, पहिचान, र आवाज हो । तर आज त्यो छाता च्यातिएको छ र त्यो च्यातिएको भाग विधानको पाना होइन, हामी सबैको आत्मसम्मान हो।

NRNA को संरचना स्पष्ट छ ,
ICC (International Coordination Council) को नेतृत्वमा, NCC (National Coordination Council) हरू समावेश हुन्छन्। त्यो संरचना विधानबाट चल्ने हो भावना वा व्याख्याबाट होइन। तर अफसोस, बिधानको पालना गरिएन, इमानदारीको अभ्यास गरिएन, र त्यसको परिणामस्वरूप ‘एकताको सन्देश’ बोकेको संस्था नै आज बिभाजनको शिकार भएको छ ।विशेष गरी NRNA अ्मेरिका जुन २० लाख भन्दा बढी नेपाली प्रवासीहरूको आवाज बन्न सक्ने सामर्थ्य राख्दथ्यो त्यही अहिले आफ्नै अनुहार चिन्न नसक्ने अवस्थामा पुगेको छ।

यो केवल ‘जुँगाको लडाइँ’ होइन , यो हजारौं नेपालीहरूको सपना जलाउने आगो हो भन्न सकिन्छ । जब नेतृत्वको लडाइँ ‘मेरो हैसियत ठुलो’ भन्ने मा सिमित हुन्छ , त्यसको सिकार साधारण सदस्य बन्दछ । जब अभिभावकले आपसी संवाद त्याग्छ, त्यसको असर नयाँ पुस्ताको मनोबलमा पर्छ। जब संस्था ‘सत्ता कब्जा’ को मैदान बन्छ, त्यो बेला ‘सपना बोकेर आएका हजारौं प्रवासी नेपाली’ हेरेर बस्न बाध्य हुन्छन् । किनभने उनीहरू सधैँ संस्था भन्दा ठूलो देशप्रेम बोकेर आएका हुन्छन्।

NRNA अ्मेरिका मा जिम्मेवारी होइन, हैसियतको खेल भैरहेको आभास हुन्छ । हुनत, NCC विनाको ICC अधुरो हो, तर ICC मानेन भने NCC को कुनै औचित्य हुन्न ।दुवै पक्ष दोषमुक्त भने छैनन ।NRNA अ्मेरिका न त च्याप्टरहरूको सच्चा अभिभावक बन्न सक्यो, न त अभिभावकले भनेको माने। अब प्रश्न यो होइन कि दोष कसको हो , अब प्रश्न यो हो, फेरि कहिले एउटै हुनेछ NRNA अ्मेरिका ?

अब कसैलाइ हराउने होड होइन , आफ्नै भविष्य बचाउने संकल्प गरौं । अझै पनि ढिलो भइसकेको छैन, कसैले माफी मागे, कसैले आत्मसमीक्षा गर्‍यो भने त्यो कमजोरी होइन , त्यो एक दुरदर्शी नेतृत्व हो। NRNA अ्मेरिका फुटेको छैन , फुटेको त हामीभित्रको आत्मविश्वास हो, जसलाई फेरि जोड्नु पर्छ । अझ फेरि संवाद खुल्न सक्छ, संगठन एक हुन सक्छ, र NRNA अ्मेरिका फेरि ‘विश्वभर छरिएका नेपालीहरूको ढुकढुकी’ बन्न सक्छ।

NRNA एउटा कुर्सीको होड होइन, यो त हाम्रा सपना, आकांक्षा, र हाम्रो राष्ट्रिय गौरवको संस्थागत रूप हो ।अब नेतृत्व बदल्ने बेला हो , अहंकार होइन, उत्तरदायित्वको नेतृत्व ।अब संस्था चलाउने होइन, एकता भएर इतिहास रच्ने बेला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *