अक्कल तामाङ
न्युयोर्क । एनआरएनए उपाध्यक्ष डा केशव पौडेलले आगामी मे महिनामा हुने एकता महाधिवेशनमा अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरेका छन् । हाम्रो सम्वाददातासँगको कुराकानीमा उनले आफूले बलियो एनआरएनए निर्माणका लागि अध्यक्षमा उम्मेदवारी दिने बताए ।
‘एनआरएनएमा धेरैजसो काम गरियो । सबै साथीहरुलाई अवसर पनि दिइयो । यस पटक म नआइ एनआरएनए सुध्रिएला जस्तो लागेको छैन । एकताबद्ध एनआरएनए बनाउनका लागि र जारी मुद्दालाई बलियो बनाउन पनि मेरो नेतृत्व आवश्यक छ, उनले भने ।
उनले बिग्रेको एनआरएनएलाई बनाउन सबैभन्दा पहिला सबै मिल्नुपर्नेमा जोड दिँदै मे महिनाको महाधिवेशन वास्तवमै एकताको महाधिवेशन हुने बताए । ‘यसमा हामी धेरै नजिक छौँ । पूर्ण एकता हुन सकेन भने पनि मेरै नेतृत्वमा छुटेका साथीहरुलाई पनि मिलाएर एकताबद्ध एनआरएनए बनाउने मेरो योजना छ’, उनले भने, ‘सबै लचक भएर एकै मिसन र एउटै भिजनका साथ अघि बढ्नुपर्छ । एक भएरमात्रै विदेशमा बस्ने सबैको पक्षमा लड्न सकिन्छ ,यसका लागि आफू तयार रहेको बताउँदै उनले नागरिकतालगायतका एजेण्डा कार्यान्वयनका लागि पहल गर्न पनि आफ्नो उम्मेदवारी रहने बताए । अहिले एनआरएनए कमजोर भएकै कारण नागरिकता कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै उनले एकतापछि यही विषयलाई प्राथमिकता दिने र सामाजिक सुरक्षा कोष लगायतका एजेण्डा पनि उठाएर लगिने बताए । उनले विदेशमा रहेका श्रमिकहरुको समस्या समाधानका लागि सरकारसँग मिलेर काम गर्ने बताए ।
लगानीको वातावरण थप निर्माण गर्ने काममा पनि आफूले काम गर्ने उनको भनाइ छ । उनले मेको अधिवेशन वैधानिक नै भएको उल्लेख गर्दै सर्वोच्चको परमादेशअनुसार अघि बढ्नुको विकल्प नभएको बताए ।
यसअघि ११ औँ महाधिवेशनमा उनले उपाध्यक्ष पद जितेका थिए । तर, बद्री केसी पक्षले धाँधली गरेको भन्दै उनले सो पद अस्वीकार गरेर आरके शर्माले बनाएको नयाँ कमिटीमा बसेका थिए । अहिले एकता महाधिवशनको प्रक्रिया अघि बढिरहेको बेला उनले सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेका हुन् । चुनावमा अन्य अभियन्ताहरु पनि आकांक्षी छन् तर उनीहरुले उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
स्रोत जनसवाल
