अक्कल तामाङ | गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को निर्देशनअनुसार विश्वभर एकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रक्रियामा अघि बढिरहेका बेला, NRNA राष्ट्रिय समन्वय परिषद् (NCC) अमेरिका भने आन्तरिक मतभेदका कारण विवादमा फसेको छ। निर्वाचनलाई लिएर दुई पक्षबीच प्रतिस्पर्धा चर्किएको छ । एक पक्षले ICC को निर्देशन अनुसार तोकिएको मितिमा उम्मेदवारी दर्ता गरिसकेको छ भने, अर्को पक्षले ICC को निर्देशन नमानी स्वतन्त्र रूपमा अर्को मिति तय गरेर निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
ICC को निर्देशन मानेर उम्मेदवारी दर्ता गर्नेहरू मध्ये ओएनएफ (ONF) न्यूयोर्कका अध्यक्ष बलभद्र कठायत आगामी कार्यकालको महासचिव पदका उम्मेदवारको रूपमा अगाडि आएका छन्। कठायतले जानकारी गराएअनुसार अहिलेको अवस्थामा सम्पूर्ण अमेरिका स्तरको NCC भन्दा पनि न्यूयोर्क च्याप्टरमै चुनावी माहोल धेरै चर्किएको छ ।
न्यूयोर्कमा दुई शक्तिशाली समूह आमने सामने
न्यूयोर्क च्याप्टरमा विशेष गरी राजु तामाङ र सत्यराज पाण्डे नेतृत्वको दुई समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। दुवै पक्षले व्यापक जनसम्पर्क अभियान, रणनीतिक बैठकहरू र सामाजिक सञ्जालमार्फत समर्थन बटुल्ने प्रयासलाई तीव्र बनाएका छन ।
बलभद्र कठायतका अनुसार, “NRNA जस्तो वैश्विक संस्था भित्र विधिको पालना गर्दै सहमतिको आधारमा अघि बढ्नुपर्ने हो। तर अहिलेको अवस्था हेर्दा विधिप्रति प्रश्न उठ्ने गरी द्विविधा उत्पन्न गरिएको छ, जुन दुर्भाग्यपूर्ण छ ” ।
गैरआवासीय नेपाली समुदायभित्र NRNA प्रती आस्थावान सदस्यहरू निर्वाचन प्रक्रियामा देखिएको अन्योल, विवाद र प्रतिस्पर्धालाई चिन्ताको रूपमा लिएका छन्। नेतृत्वमा रहेका र नेतृत्व दाबी गर्ने उम्मेदवारहरूबाट विधिसम्मत, पारदर्शी र समावेशी प्रक्रिया सुनिश्चित गर्न दबाब बढ्दै गएको छ ।यता ICC तर्फबाट भने स्पष्ट निर्देशन जारी भइसकेको छ, निर्वाचन निर्धारित मितिमा नै सम्पन्न गरियोस् र NRNA को विश्वव्यापी एकता तथा विधिको पालनामा कुनै सम्झौता नगरियोस भनिएको छ ।
यदि निकट भविष्यमै दुवै पक्षबीच सहमतिको पहल गरिएन भने NCC अमेरिकामा दोहोरो नेतृत्व, संस्थागत फाटो र वैधानिकता संकटको जोखिम अझै बढ्ने देखिन्छ।


