अक्कल तामाङ

न्युयोर्क — गैर आवासीय नेपाली संघ (NRNA) NCC America को आगामी १६–१७ अगस्ट २०२५ मा हुन गइरहेको निर्वाचनमा न्युयोर्क च्याप्टरका अध्यक्ष पदका उम्मेदवार राजु तामाङ नेतृत्वको सम्पूर्ण प्यानलले औपचारिक रूपमा निर्वाचन बहिष्कार गरेको घोषणा गरेको छ।

राजु तामाङले आफ्नो प्यानलको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्ति सार्वजनिक गर्दै “निर्वाचन प्रक्रियामा देखिएको अपारदर्शिता, नियम उल्लङ्घन, र निष्पक्षताको अभाव” लाई मुख्य कारणका रूपमा उल्लेख गरेका छन्। विज्ञप्ति अनुसार, निर्वाचन आयोगलाई पटक–पटक तथ्यसहित ध्यानाकर्षण गराए पनि गम्भीर अनियमितताहरूको समाधान नभएको, जसका कारण प्रतिस्पर्धीको समान अवसर सुनिश्चित हुन नसकेको आरोप लगाइएको छ।

राजु तामाङको प्यानलले बहिष्कारको निर्णय सोशल मिडिया र अन्य विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक गर्दै, संघभित्र आवश्यक सुधार र निष्पक्ष प्रणाली स्थापना भएपछि मात्र भविष्यमा सहभागी हुने बताएका छन्।

यस बहिष्कारका कारण न्युयोर्क च्याप्टरमा हुने NRNA NCC America को निर्वाचनमा प्रतिस्पर्धा र मतदाता उत्साहमा प्रत्यक्ष असर पर्ने देखिन्छ।

प्रेस विज्ञप्ति

विषय: NRNA NCC America निर्वाचन बहिष्कार – अन्यायको प्रतिवाद

हामी, NRNA NCC America को 2025–2027 कार्यकालका लागि अगस्ट 16 र 17, 2025 मा हुने निर्वाचनमा भाग लिन विधिवत रूपमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूको तर्फबाट, यो विज्ञप्ति जारी गर्दैछौं।

निर्वाचन आयोगले उम्मेदवारको आवेदन आह्वान गरेपछि, हामीले राजु तामाङको नेतृत्वमा निम्न पदका लागि उम्मेदवारी दिएका थियौं—
• उपाध्यक्ष: मोहन प्रसाद गौतम
• महिला उपाध्यक्ष: सोमा वाइबा
• सचिव: अर्जुन उपाध्याय
• महिला सचिव: विमला लामा
• कोषाध्यक्ष: दिपेश लामा
• युवा संयोजक: प्रदीप स्याङ्बो
• महिला संयोजक: अन्जु सिवाकोटी

निर्वाचन आयोगले प्रारम्भिक सूचीहरूमा बारम्बार अध्यक्ष पदका उम्मेदवार राजु तामाङको नाम सार्वजनिक गरेको थियो। तर, अन्तिम क्षणमा कुनै वैधानिक आधार वा स्पष्ट कारणबिना उहाँको नाम हटाइयो। यो कदम निष्पक्षता र पारदर्शितामाथि खुला प्रहार हो, जसले निर्वाचन आयोगको नैतिकता, विश्वसनीयता र लोकतान्त्रिक मूल्यप्रति गम्भीर प्रश्न खडा गरेको छ।

हामी यसलाई केवल अन्याय मात्र होइन, संस्थाको इज्जतमाथि गरिएको योजनाबद्ध हमला मान्छौं। निष्पक्ष र लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने हामीहरूलाई यस्तो असमान र पक्षपाती व्यवहार अस्वीकार्य छ।

यस कारण, हाम्रो सम्पूर्ण टिमले यस्तो नाटकिय र पूर्वाग्रही निर्वाचन प्रक्रियामा एक इन्च पनि कदम नचल्ने निर्णय गरेको छ। हामी यो निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्छौं र यो सन्देश सम्पूर्ण सदस्य, समर्थक र समुदायमा प्रष्ट रूपमा पु¥याउँछौं— अन्यायको सामना मौन भएर गरिँदैन, प्रतिवाद गरिन्छ।

हामी भविष्यमा NRNA NCC America लाई फेरि पनि निष्पक्ष, पारदर्शी र सदस्यको विश्वासमा अडिएको संस्था बनाउन अडिग रहनेछौं।

राजु तामाङ – अध्यक्ष पदका उम्मेदवार
मोहन प्रसाद गौतम – उपाध्यक्ष पदका उम्मेदवार
सोमा वाइबा – महिला उपाध्यक्ष पदका उम्मेदवार
अर्जुन उपाध्याय – सचिव पदका उम्मेदवार
विमला लामा – महिला सचिव पदका उम्मेदवार
दिपेश लामा – कोषाध्यक्ष पदका उम्मेदवार
प्रदीप स्याङ्बो – युवा संयोजक पदका उम्मेदवार
अन्जु सिवाकोटी – महिला संयोजक पदका उम्मेदवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *