अक्कल तामाङ

न्यूयोर्क, अमेरिका । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) अन्तर्गतको न्यूयोर्क च्याप्टरमा आगामी कार्यकालका लागि नेतृत्व परिवर्तनको चर्चा तीव्र हुँदै जाँदा, वर्तमान कार्यसमितिका बोर्ड सचिव राजु तामाङले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

राजु तामाङले एनआरएनए न्यूयोर्कलाई थप उत्तरदायी, प्रभावकारी र सबै नेपालीलाई समेट्ने संस्थाका रूपमा अगाडि बढाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिन लागेको जानकारी दिएका हुन्। लामो समयदेखि नेपाली समुदाय, सामाजिक अभियान र संगठन निर्माणमा सक्रिय तामाङले अनुभव, प्रतिबद्धता र नेतृत्व क्षमतालाई आफ्नो बलियो पक्षको रूपमा प्रस्तुत गरेका छन्।

समावेशी नेतृत्व र संस्थागत सुदृढीकरणमा जोड दिनु हुदै आफ्नो उम्मेदवारी घोषणासँगै तामाङले आगामी कार्यकालमा तीन मुख्य प्राथमिकताहरू प्रस्तुत गरेका छन्:
1. समावेशी नेतृत्व: सबै जाति, वर्ग र समुदायलाई समेट्ने प्रतिनिधित्व प्रणाली विकास गर्ने।
2. पारदर्शिता र जवाफदेहिताको कार्यशैली: प्रत्येक निर्णय र कार्यक्रमलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने, सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्ने।
3. संस्थागत सुदृढीकरण: एनआरएनए न्यूयोर्क च्याप्टरलाई थप व्यवस्थित, कानुनी र दीगो बनाउने।

समुदायप्रतिको समर्पण र पहिचान

राजु तामाङ विगत एक दशकभन्दा बढी समयदेखि न्यूयोर्कमा सामाजिक अभियन्ता, स्वयंसेवक र संस्थागत अभियानीका रूपमा चिनिँदै आएका छन्। उनले शिक्षा, स्वास्थ्य, आपतकालीन सहयोग तथा सांस्कृतिक पहिचान संरक्षण जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन । उहाले भन्नु भयो “संगठनमा निरन्तरता र रूपान्तरण दुवै आवश्यक छन्। पुराना सकारात्मक अभ्यासको निरन्तरता र नयाँ युगअनुसारको रूपान्तरणमार्फत हामीले NRNA लाई थप प्रभावकारी बनाउनु आवश्यक छ।”

स्वस्थ प्रतिस्पर्धाको अपेक्षा

एनआरएनएको निर्वाचन प्रक्रिया तातिंदै गएका बेला उम्मेदवारहरूबीच स्वस्थ प्रतिस्पर्धा, साझा उद्देश्य र सहयोगको भावना झल्किनु सकारात्मक संकेत हो। नेपाली डायस्पोरालाई संगठित गर्दै अधिकार, अवसर र सहयोग प्रवाहको माध्यम बनेको एनआरएनएलाई नयाँ नेतृत्वले कस्तो दिशा दिन सक्छ भन्ने प्रतीक्षा सम्पूर्ण सदस्यमा देखिएको छ ।

सम्पर्क:
एनआरएनए न्यूयोर्क च्याप्टर निर्वाचन सम्बन्धी थप जानकारी तथा उम्मेदवारहरूको दृष्टिकोण जान्नका लागि हामी निरन्तर अपडेट दिइरहनेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *