अक्कल तामाङ

न्युयोर्क, अप्रिल 19,2026 (आइतबार)

नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना), अमेरिकाको अध्यक्षमा पासाङ (एपी) लामा शेर्पा निर्विरोध चयन भएका छन्। न्युयोर्कको क्विन्सस्थित ज्याक्सन हाइट्सको ज्याक्सन मार्केट सभाहलमा सम्पन्न फिप्नाको १०औं महाधिवेशनले उनलाई सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो ।

निर्धारित समयभन्दा करिब २ घन्टा ढिला शुरु भएको अधिवेशन ७ घण्टा लामो समयसम्म चलेको थियो । सम्पन्न निर्वाचन प्रक्रियामा शेर्पा संघ अमेरिकाका अध्यक्ष तथा नेपाल डे परेड 2026 का संयोजकसमेत रहेका शेर्पा अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन्।

प्रमुख निर्वाचन आयुक्त नविन शेरचन तथा निर्वाचन आयुक्तद्वय मच्छे गुरुङ र सोमेन्द्र रंजितको संयुक्त टोलीले निर्वाचन प्रक्रिया सञ्चालन गरेको थियो। उक्त समितिका अनुसार निर्धारित समयसीमा (अप्रिल 13,2026 बेलुका १० बजेसम्म) भित्र प्राप्त उम्मेदवारीहरूमा कुनै प्रतिस्पर्धा नभएकाले सबै पदाधिकारी निर्विरोध चयन भएका हुन्।

महाधिवेशनले निम्न पदहरूमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
अध्यक्ष: पासाङ (एपी) लामा वरिष्ठ उपाध्यक्ष: शम्भु राइ
क्षेत्रीय उपाध्यक्ष: राजु तामाङ महासचिव: डम्बर बहादुर (सुमन) लिम्बु
सह-कोषाध्यक्ष: कर्मा शेर्पा

बोर्ड सदस्यहरुमा
ओम (विजय) गुरुङ
हरि जगेवु
भुपेन्द्र बज्रचार्य

कार्यक्रममा फिप्नाका सल्लाहकार समिति, विभिन्न समुदायका प्रतिनिधि तथा आमन्त्रित पाहुनाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वक्ताहरूले फिप्नाको ऐतिहासिक योगदानको चर्चा गर्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्नुका साथै नव-निर्वाचित टिमलाई शुभकामना दिएका थिए ।

फिप्नाका महासचिव दिपक चौधरीले कार्यक्रम सञ्चालन गर्दै संस्थाले आफ्नो कार्यकालमा गरेका प्रमुख गतिविधिहरूको विवरण प्रस्तुत गरेका थिए ।त्यसैगरी, कोषाध्यक्ष कृष्ण महर्जन र सह-कोषाध्यक्ष दावा शेर्पाले संयुक्त रूपमा आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए भने स्वागत मन्तव्य ममता राइले दिएका थिए ।

नेतृत्व हस्तान्तरण र प्रतिबद्धता

कार्यक्रमको समापनमा मन्तव्य व्यक्त गर्दै निवर्तमान अध्यक्ष तोरण गुरुङले नयाँ कार्यसमितिलाई संस्थाको मूल सिद्धान्तलाई निरन्तरता दिन आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष एपी लामा शेर्पाले सम्पूर्ण नयाँ कार्यसमिति सदस्यहरूलाई स्वागत गर्दै निवर्तमान नेतृत्वप्रति आभार प्रकट गरे । उनले विशेषगरी फिप्ना र नेपाल डे परेडबीच लामो समयदेखि रहँदै आएको विवाद समाधान गरी एकता कायम गर्न योगदान दिने सम्पूर्ण टोलीलाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा संगठनलाई अझ सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन ।

कार्यक्रममा कार्य सम्पादनको आधरमा तत्कालीन अध्यक्ष तोरण गुरुङले केशव राम राइ र दिपक चौधरीलाइ प्रमाणपत्र सहित सम्मान गर्दा जत्ती रौनक भएको थियो त्यो भन्दा बढि नवनिर्वाचित कार्यसमितिमा महिला सहभागिताको कमिले त्यत्ति नै सन्नाटक भएको थियो ।

नव निर्वाचित समितिले महिलाहरु लाइ पनि समेट्नु हुनेछ भन्ने विश्वास गर्दै सम्पुर्ण निर्वाचित पदाधिकारीहरुलाइ हाम्रो तर्फबाट पनि कार्यकाल सफलताको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *