अक्कल तामाङ
न्युयोर्क – तामाङ सोसाइटी अफ अमेरिकाको सल्लाहकार, को–अर्डिनेटर तथा कार्यसमितिबीच आज साँझ (जुलाइ ९) मा महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

महासचिव चाँदनी लामाले साँझ ८ बजे सुरु गर्नुभएको बैठकको अध्यक्षता सोसाइटीका अध्यक्ष तुल बहादुर तामाङले गर्नुभएको थियो। झण्डै दुई घण्टासम्म चलेको बैठक राति ९:४५ बजे अध्यक्ष तामाङले धन्यवाद दिँदै समापन गर्नुभयो। बैठकमा उपस्थित सदस्यहरुबीच संस्थाको आगामी गतिविधिहरूबारे गहन छलफल तथा महत्वपूर्ण निर्णयहरु गरिएको थियो।

बैठकले सर्वसम्मत निर्णयका साथ आउँदो जुलाई २६ तारिख, शनिवारको दिन समर बर्बिक्यु पिक्निक आयोजना गर्ने निर्णय गरेको छ। उक्त पिक्निक Long Island स्थित Belmont Lake State Park मा आयोजना गरिनेछ।

पिक्निकमा सहभागिताका लागि प्रति व्यक्ति प्रवेश शुल्क २० डलर तोकिएको छ, तर १० वर्ष भन्दा मुनीको बालबालिकाहरुलाइ भने शुल्क लाग्ने छैन । शुल्क लिनु पर्ने या नलिनु पर्ने भन्नेबारेमा केही समय छलफल भए पनि धेरैजसो सल्लाहकारहरुको तर्कको आधारमा शुल्क तोकिएको हो।

पिक्निक कार्यक्रमलाई सामूहिक र आत्मीय बनाउने उद्देश्यले ‘आमा समूह’ लाई परिकार बनाएर ल्याउन अनुरोध गरिने निर्णय भएको छ। त्यस्तै, बालबालिकाहरूका लागि रमाइलो खेलकुद कार्यक्रम आयोजना गर्न को–अर्डिनेटर याङ्गि तामाङलाई जिम्मेवारी दिइएको छ।

बैठकमा विभिन्न प्रस्तावहरूमाथि छलफल भइरहँदा आगामी ल्होछार पर्व भव्य रुपमा मनाउने विषयमा तथा न्यूयोर्कमा स्थायी रूपमा ‘कम्युनिटी सेन्टर’ स्थापना गर्ने प्रारम्भिक योजनाबारे पनि विचार विमर्श भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *